किशोर नेपाल :
यतिबेला धर्मनिरपेक्ष राष्ट्र नेपालको प्रथम महिला राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको नाम विवादमा परेको छ । विवाह पञ्चमीका अवसरमा राम–जानकीको पूजा–अर्चना गर्न गएकी राष्ट्रपतिले आन्दोलनमा रहेका मधेसी जनताको विरोधको सामना गर्नुपरेको छ ।

राष्ट्रपतिको विरोध गरेर मधेसका जनताले ‘राष्ट्रपति र त्यसमा पनि महिलाको’ अनादर गरेको निष्कर्ष निकालेका छन्– संस्थापन पक्षका विचारक, विश्लेषक, कार्यकर्ता र चौतारीमा उभिएका पत्रकारहरूले । उनीहरू यो अनादरको बदला लिन चाहन्छन् ।
 नेपाली राजनीतिमा यो कुनै नौलो र अनौठो घटना होइन । यहाँको संस्थापन पक्षले मधेस वा पहाड, जहाँका जनताबाट पनि आदर र सत्कारको खोजी गरेका हुन्छन् । उनीहरूको सम्मान नगरेको आरोपमा जनतालाई कानुनी पासोमा पार्ने र सजायको भागी बनाउने काम सुरु हुन्छ । जनकपुरधामको घटनामा पनि यो प्रक्रिया सुरु भइसकेको छ ।
धर्मनिरपेक्ष राष्ट्रको सैद्धान्तिक मान्यता विपरीत कुनै एक धर्मको धार्मिक अनुष्ठानमा राष्ट्रपतिको सहभागिता वाञ्छनीय हुँदैन । त्यसैले निर्धक्क भन्न सकिन्छ : यो विवादको सिर्जना स्वयं राष्ट्रपति भण्डारीले गरेकी हुन् ।
विवाह पञ्चमीमा पूजा—अर्चनाको थाली बोकेर राम–जानकीको दर्शनका लागि जनकपुरधाम जानु उनको व्यक्तिगत अधिकारको कुरो हो । तर राजनीतिक र सामाजिक द्वन्द्वले थिलथिलो भएको त्यो धार्मिक थलोमा उनी सामान्य नागरिकका रूपमा शान्ति, सद्भाव र समान अधिकारको सन्देश लिएर गएको भए परिस्थिति फरक हुन्थ्यो होला । राष्ट्रपतिको हैसियतले त्यहाँ उनको अभिमानपूर्ण सहभागिताले चर्को विवाद निम्त्यायो ।
आधिकारिक हिसाबले धर्मनिरपेक्ष राष्ट्रको राष्ट्रपतिले कुनै धार्मिक अनुष्ठानमा भाग लिनु संविधानको मान्यताअनुरूप हुन्छ कि हुँदैन, यो कुरो संविधानविद्हरूले जानुन् ।
अहिले राष्ट्रपति विद्याको पक्षमा उभिएको भीडले अघिल्ला राष्ट्रपति डा. रामवरण यादवको यस्तै सहभागिताको धुवाँधार विरोध गरेको जनताले पक्कै बिर्सिएका छैनन् । जनताले जानेको यतिमात्र हो, धर्मनिरपेक्ष देशले कुनै धर्म, सम्प्रदाय र धार्मिक पन्थलाई बेग्लाबेग्लै चिन्दैन ।
उसका लागि सबै धर्म, सम्प्रदाय र पन्थ समान हुन्छन् । सबै संस्कृतिको संरक्षण उसको दायित्व हुन्छ । राष्ट्रपति विद्या र उनका सल्लाहकारहरूलाई यो कुराको ज्ञान नभएको पक्कै होइन । विद्या भण्डारी महिला भएकोले राष्ट्रपति बनेकी होइनन् ।
जीवनभर एमाले–कम्युनिष्ट पार्टीको झण्डा बोकेको एउटै कारणले मात्र आफ्नो पार्टीको दबदबा रहेका बेला राष्ट्रपति पदको पुरस्कार प्राप्त गरेकी कम्युनिष्ट नेताको धार्मिक अनुष्ठानप्रति अहिले देखिएको मोह राजनीतिक पाखण्डभन्दा बढी केही होइन ।
धर्मलाई अफिम र संस्कृतिलाई प्रगतिको अवरोधक ठान्ने कम्युनिष्ट सिद्धान्तमा दीक्षित व्यक्ति राजनीतिक आन्दोलनको आगो बलिरहेको संवेदनशील क्षेत्रमा आयोजित धार्मिक अनुष्ठानमा सेनाको गारद बोकेर सहभागी हुनजानु त्यसैले कपटपूर्ण राजनीति हो ।
यसलाई वामपन्थी सत्ताको नेतृत्व गरिरहेको एमाले रणनीतिको एउटा सूत्र भन्न अन्कनाउनु पर्दैन । राष्ट्रपति विद्यालाई जानकी दर्शनमा पठाएर भारतको हिन्दुवादी सरकार रिझाउने सरकारी सूत्रकै एक हिस्सा मान्नुपर्छ, यसलाई । तर प्रयोगको पहिलो चरणमा नै यो सूत्र स्खलित भएको छ ।
राष्ट्रपति विद्याको जनकपुरधामको जानकी मन्दिर भ्रमणपछि चुलिएको विवादमा अहिलेसम्म धेरैले घिउ थपेका छन् । यसको उद्देश्य आन्दोलनमा रहेका मधेसका नेपाली जनतालाई आततायीका रूपमा चित्रण गरेर अपमानित गर्नु रहेको छ ।
राष्ट्रपतिका नाममा अपशब्द जोडेर सामाजिक सञ्जालमा कसैले लेखेको कथित ‘स्टाटस’लाई पत्रपत्रिका र सामाजिक सञ्जालका प्रयोगकर्ताहरू अहिलेसम्म लतार्दैछन् । घटना र त्यसको यथार्थको गहिराइमा पुग्ने चासो कसैलाई छैन ।
 समाचारको व्यवसायमा लागेका व्यक्तिहरूमा धरातलमा पुगेर तथ्य केलाउने प्रचलन खण्डित भएको छ । सञ्चार जगतको एउटा हिस्सामा झुठ र घृणाको खेती मौलाएको छ । जनकपुरधाम मेलामा राष्ट्रपति भण्डारीको हुर्मत लिने काम भएकोले त्यसका लागि आन्दोलनकारी दलका नेताहरूले माफी माग्नुपर्ने माग संस्थापन पक्ष र उसका समर्थकहरूबाट उठिरहेका छन् ।
तर राष्ट्रपतिको सुरक्षामा गएको सैनिक गारदले सुरक्षाको नाममा मन्दिरभित्र गरेको उछलकुदको लेखाजोखा गर्ने साहस कसैले गरेको छैन । मधेस आन्दोलनका कारण सरकारले जारी भएको संविधानसम्म पनि लागु गर्नसकेको छैन ।
नाकाबन्दीको समस्या सल्टाउन कूटनीतिक हिसाबले सरकार असफल र अकर्मण्य सावित भएको छ । यस्तो अवस्थामा सस्ता नारामा मात्र जीवित रहेको सरकारले जनकपुरधाममा भएको सुरक्षा हस्तक्षेपको माध्यमबाट जनतालाई आफू गतिशील रहेको जनाउदिन खोजेको हुनुपर्छ ।
मधेस आन्दोलनको पृष्ठभूमिमा कोइराला मन्त्रिपरिषदले संशोधनका लागि अनुमोदन गरिसकेको संविधानका प्रावधानहरूको वर्तमान मन्त्रिपरिषदले अनुमोदन गरेको छ । ओली नेतृत्वको मन्त्रिपरिषद कोइराला मन्त्रिपरिषदकै निरन्तरता हो ।
सरकारको यो निर्णयले लोकतान्त्रिक निरन्तरताको सिद्धान्त अनुरूप छैन । सम्भवत: प्रधानमन्त्री ओली आफूलाई अघिल्लो सरकारसँग जोडन चाहँदैनन् । जे होस्, भारत सरकारले मन्त्रिपरिषदको प्रस्तावको पक्षमा गरेको टिप्पणीबाट सरकारले राहत महसुस गरेको हुनुपर्छ ।
यो उत्साहको यथेष्ट झल्को परराष्ट्रमन्त्रीको प्रतिक्रियामा पाइन्छ । भारत सरकारको यो टिप्पणी समस्या समाधानको प्रारम्भ होइन । समाधानको प्रक्रिया आफैंमा बोझिलो छ । भारतले खुसी व्यक्त गर्दैमा नेपाली राजनीतिको चञ्चल स्वरूप बदलिने पक्कै होइन ।
प्रस्तावित संशोधनले मधेसका समस्याहरूको एकमुष्ट समाधान गर्दैन । तीन मिनेटमा सिर्जना भएर सयभन्दा बढी नागरिक र सुरक्षाकर्मीको ज्यान लिएको सीमांकन विवादलाई आयोग गठन गरेर तीन महिना पन्छाउने सरकारी प्रस्ताव भरलाग्दो छैन । संविधान निर्माणको क्रममा तीन दलका शीर्ष नेताहरूले जुन तदारुकताका साथ प्रादेशिक सीमांकन तोकेका थिए, त्यत्तिकै तदारुकताका साथ संशोधन नगर्नु भनेको समस्यालाई कचल्ट्याउनुमात्रै हो ।
मधेस आन्दोलनलाई तीन महिना विश्राममा पठाएर पनि समस्याको टुंगो लाग्ने परिस्थिति अहिले छैन । नाकाको अवरोध हट्दैमा द्वन्द्व समाप्त हुँदैन । वर्तमान सरकार संसदीय संख्याका हिसाबले जतिसुकै बलियो भए पनि अहिलेसम्म यसको विश्वसनीयता स्थापित हुनसकेको छैन ।
सरकार सञ्चालनमा रहेका दुई प्रमुख दलभित्र विवादहरू बढ्दै गएका छन् । मधेस आन्दोलनका नेताहरूले यो सत्यलाई बुझेको हुनुपर्छ । सीमांकनमा संशोधन गर्न तीन महिना लगाउने हो भने अहिले गरिएको प्रादेशिक संरचनालाई फेरि पुनर्संरचना गर्नुपर्ने अवस्था आउन सक्छ ।
सत्तापक्षले मधेस आन्दोलनलाई भारत–केन्द्रित राजनीतिका रूपमा बुझेको छ । यो बुझाइ नेपालको एकताका लागि खतरनाक छ । मधेस आन्दोलन र राजनीतिको केन्द्र नेपालको राजधानी काठमाडौं हो, नयाँदिल्ली होइन । मधेस आन्दोलनले भारतीय सद्भाव र समर्थन पाएको छ ।
तर त्यस्तो समर्थन नेपालका सबै दलहरूले पाएका छन् । अहिले भारत विरोधीको लर्को लामै देखिए पनि २०५२ सालदेखि अहिलेसम्मको राजनीति कतिपय अर्थमा नयाँदिल्लीसँग पराश्रित रहँदै आएको छ, चाहे माओवादीको जनयुद्ध होस् वा कांग्रेस–एमालेको आन्दोलन ।
अहिले सरकारको समीकरणभित्र र बाहिर रहेका दलका नेताहरूको भारतका नेता र उद्योगपतिहरूसँग मात्र होइन, ‘भाइ’हरूसँगको सम्बन्ध पनि निकै घनिष्ठ रहेको छ । मधेस आन्दोलनका क्रममा यो सम्बन्ध पातलिएकोमा उनीहरूको चिन्ता निकै बाक्लिएको हुनुपर्छ । विभिन्न दलको राजनीति कतिपय मामिलामा भारतीय अर्थतन्त्रसँग जोडिएको छ ।
यसलाई सहज र स्वाभाविक रूपमा बुझ्न यति नै पर्याप्त छ कि सरकारको नेतृत्व लिने दलले नाकाबन्दीका सन्दर्भमा सामाजिक सञ्जाल र पत्रपत्रिकामार्फत चर्को आवाजसाथ भारत सरकार विरुद्ध अभियान सञ्चालन गरे पनि कुनै पनि अन्तर्राष्ट्रिय मञ्चमा गएर औपचारिक हिसाबले गुहार मागेको छैन । विडम्बना हो, सरकारले आफ्नो अनुहार कतै देखाउनसकेको छैन ।
नाका अवरोधको कारण समग्र देशको अर्थतन्त्र अहिले जस प्रकारको दलदलमा फँसेको छ, त्यसले मधेस र पहाड दुवैतिरको काम गरी खानुपर्ने वर्गका नेपालीलाई दुरुह अवस्थामा पुर्‍याएको छ । यो आजको नांगो सत्य हो । चर्को मूल्य तिरेर आवश्यक वस्तुहरू जुटाउन सक्ने सम्पन्न वर्गका नेपालीलाई नाकाको अवरोधले खासै फरक पारेको देखिएको छैन ।
नाका अवरोधको फाइदा संस्थापन पक्षका राजनीतिक दलका नेता र कार्यकर्ताहरूले पनि उठाएका छन् । ग्यास र तेलको कालोबजारीमा राजनीतिक दलको संलग्नता कसैबाट लुकेको छैन ।
 समस्या पर्दा पनि सधैं मौन रहने निम्न र निम्न मध्यम वर्गका नेपाली जनतालाई समेत अहिलेको अभाव र बेथितिले आक्रोशित तुल्याएको छ । यो तथ्यलाई वर्तमान सरकारले ठम्याउनसकेको छैन । सरकार प्रमुख स्वयं नै शाब्दिक हिसाबले संयमित छैनन् । मधेस आन्दोलनप्रतिको उनको दृष्टिकोण अराजनीतिक रहेको छ । उनले उच्चारण गरेका शब्दहरू कर्णकटु र व्यंग्यात्मक हुने गरेका छन् ।
यो अवस्थाको मूल्यांकन मधेसका नेताहरूबाट पनि हुनुपर्छ । नेतृत्व भनेको मधेस र पहाडको सीमित भूमिमा खुम्चिएर बस्दैन । मधेसका नेताहरूले पनि समग्र देशको नेतृत्व गर्ने हो ।
अहिलेको संकटको गम्भीरतालाई बुझेर नेताहरूले यस्तो बाटो अपनाउनुपर्छ, जसले मधेसका संवैधानिक र राजनीतिक समस्या सधैंका लागि समाधान गर्न मद्दत पनि गरोस् र जनतालाई प्रभावहीन सरकारको कोलाहलबाट मुक्त पनि गरोस् । त्यस्तो बाटो के हुनसक्छ ? मधेसका प्रमुख नेताहरूले गम्भीरतापूर्वक सोच्ने कुरा हो यो ।
श्रोत - कान्तिपुर समाचार
Axact

Axact

Vestibulum bibendum felis sit amet dolor auctor molestie. In dignissim eget nibh id dapibus. Fusce et suscipit orci. Aliquam sit amet urna lorem. Duis eu imperdiet nunc, non imperdiet libero.

Post A Comment:

0 comments: