माघ १, २०७२- हरेक वर्ष माघे संक्रान्तिलाई किरातीले किरात संवत् ‘नयाँ वर्ष’का रूपमा मनाउँछन् । यो संवत्लाई किरात येले संवत्, किरात येले तङ्बे, किरात येले थोचे पनि भन्ने गरिन्छ । यो संवत् मनाउनुको गाँठी कुरो पहिचानको हो । इतिहासविद् प्रा. जगदीशचन्द्र रेग्मीका शब्दमा किरात जातिहरूले नेपालको ऐतिहासिक कालका किरात राजवंशसित जातीय र भावनात्मक सम्बन्ध गाँसेको पाइन्छ । यो संवत् इतिहासमा उल्लेख प्रथम किरात हाङ (राजा) यलम्बरको नाममा चलेको स्मारक संवत् हो । तर माघ १ गते नयाँ वर्षको संवत् भने दुई खाले छ । विक्रम संवत् २०७२ माघ १ (सन् २०१६ जनवरी १५) बाट किरात संवत् कलिगत आधारमा ५०७६ सुरु हुन्छ । अर्कोतर्फ हाङ यलम्बरलाई स्मारक संवत् मान्दा ३७९५ सुरु हुन्छ । अनुन्धाताहरू स्मारक संवत्चाहिँं तर्कसंगत र प्रामाणिक हुने दाबी गर्छन् । तर अध्ययनको नाममा संवत् घटाउनुहुन्न भन्नेहरूको जमात उत्तिकै छ । प्राज्ञ वैरागी काइँलाको अध्यक्षतामा सन् २००९ नोभेम्बर १४ र १५ मा काठमाडौंमा सम्पन्न ‘किरात येले संवत् अन्तर्राष्ट्रिय विशेष विचार गोष्ठी’पछि यो संवत् घट्न पुगेको हो । मूलत: इतिहासविदहरू जगदीशचन्द्र रेग्मी, मञ्जुल याक्थुम्बा र दुर्गाहाङ याक्खा राईको निष्कर्षमा किरात येले संवत्लाई नयाँ अंकन गरिएको थियो ।
यो संवत्लाई किराती समाजमा सामाजिक रूपमा ‘कौटुम्बिक एकताको प्रतीकका रूपमा सहर्ष स्वीकार’ गरिएको छ । यसको साझा प्रयोगले सांस्कृतिक जागरण र किरात एकतालाई उजागर गरेको मान्न सकिन्छ । यो संवतको प्रचलन २०३० सालमा पाँचथरका कवि पुष्प थाम्सुहाङले ‘सिरिजंगा’ मासिक पत्रिकामा उल्लेख गरी दार्जिलिङबाट प्रकाशन गरेका थिए । त्यसपछि सिक्किमका जसहाङ मादेनको पहलमा अखिल किरात लिम्बु चुम्लुङले साँप वर्षको याक्थुङ पञ्चाङ्ग येले तङ्बे ५०४९ (सन् १९८९–९०) प्रकाशन गरे । थाम्सुहाङले प्रयोगमा ल्याएभन्दा मादेनले उल्लेख गरेको संवत् ४० वर्ष कान्छो रहेको छ । त्यही संवत्लाई पछ्याउँदै किरात याक्थुङ चुम्लुङले २०४८ सालदेखि आफ्नो प्रकाशनमा क्यालेन्डर छाप्दै आएको छ । त्यसयता सुनुवार सेवा समाज, किरात राई यायोक्खा र किरात याक्खा छुम्माले ‘किरात येले संवत्’का रूपमा भित्तेपात्रो प्रकाशन गर्दै आएका छन् ।
वैरागी काइँलाको संयोजनमा सन् २००९ मा सम्पन्न अन्तर्राष्ट्रिय गोष्ठीले करिब दुई हजार वर्ष संवत् घट्न पुग्यो । संवत् घटेप्रति समाजले स्वीकार गर्न सकिरहेको छैन र थप अध्ययनको बाटोसमेत खुल्न सकिरहेको छैन । इतिहासविद रेग्मीले गोपाल वंशाली हुँदाहुँदै भाषा वंशावलीलाई आधार मान्न उपयुक्त नहुने तर्क दिएका छन् भने गोपाल वंशावलीलाई घटाउने बढाउने गर्नु हुँदैन भन्ने तर्क पेस गरेका छन् । त्यसैगरी मुन्धुममा वर्ष, महिना, दिनलाई के भन्छ, त्यस्ता कुराबाट अगाडि बढ्नुपर्ने उनको सुझाव छ । यो संवतको चन्द्रमास वा सूर्यमास केलाई मान्ने भन्ने स्पष्ट छैन । तिथिमितिबारे अध्ययन भएको छैन । यो संवतको अध्ययनका निम्ति ‘यलम्बर फाउन्डेसन’ (किरातोलोजी रिसर्च सेन्टर) स्थापना भएको छ । उक्त फाउन्डेसनले सिद्धान्त सारणीय नेपाल पञ्चाङ्गपत्र ‘किरात येले संवत् ३७९२’ (कगित आधारित ५०७३) र ‘किरात येले संवत् ३७९३’ (कगित आधारित ५०७४) पात्रो प्रकाशनमा ल्याएको पाइन्छ । तर निष्कर्षमा पुग्न अझै समय लाग्ने फाउन्डेसनका अध्यक्ष तथा कवि विक्रम सुब्बा बताउँछन् ।
किराती मिथअनुसार पैयुँको फूल फुलेसँगै येले संवतको प्रारम्भ हुन्छ । राजनीतिक इतिहासमा ओल्लोकिरात, माझकिरात र पल्लोकिरात प्रदेशमा प्रचलित यो संवतको पहिलो दिन देश, विदेशमा रहेका किरातीले धुमधामसाथ नयाँ वर्ष मनाउँछन् । संघीय प्रदेश–१ वासी किरातीले वनतरुलको टीका निधारमा ट्यास्स टाँसेर नयाँ वर्ष मनाउने फगत रहरमात्र बन्नहुन्न । घरमा पाहुनापाछा बोलाएर तरुलको टीका र तरुलको परिकार खुवाएर नदी किनारमा लाग्ने जात्रा भर्न जाने बहानामात्र बन्नु पनि सार्थक हुनसक्दैन । भ्रममा बाँच्नुभन्दा भ्रमलाई चिरेर अघि बढ्नु बुद्धिमता हो । माघे संक्रान्ति एउटै हो भने संवत् पनि एकै हुन जरुरी छ । कुन ठिक, कुन बेठिक भन्नेबारे मतैक्य नहुँदा सर्वसाधारण रणभुल्लमा परेका छन् । आफू गर्न नसक्ने अरुलाई गुहारेर सत्य, तथ्यको नजिक पुग्ने प्रयासलाई मूर्खको खेल सम्झिनु थप भ्रमको विषादी छर्नु जस्तै हो । किरात प्रदेश अथवा लिम्बुवान, खम्बुवान, कोइँचवान, याक्खावानमा प्रचलन ल्याइने संवत् प्रामाणिक हुन जरुरी छ । किरातकालीन इतिहासको प्रमाणलाई पुन:पुष्टिको सट्टा अनुमानको भरमा संवत्लाई पहिचान बनाउनु युक्तिसंगत ठहरिन्न ।

श्रोत - कान्तिपुर समाचार
Axact

Axact

Vestibulum bibendum felis sit amet dolor auctor molestie. In dignissim eget nibh id dapibus. Fusce et suscipit orci. Aliquam sit amet urna lorem. Duis eu imperdiet nunc, non imperdiet libero.

Post A Comment:

0 comments: